जापानमा कोभिडपछि पहिलो गर्मी बिदा मनाउन जानेको भीड

कोरोना भाइरसलाई सामान्य मौसमी फ्लुको श्रेणीमा राखेपछिको पहिलो गर्मी बिदा मनाउन आफ्ना गन्तव्यमा जानेहरुको ठूलो भीड लागेको छ ।

शुक्रबारदेखि नै राजधानी टोकियो र जापानका अन्य सहरका विमानस्थल तथा रेलवे स्टेशनमा मानिसहरुको ठूलो भीड देखिएको छ ।

यात्रुहरु टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका लागि लाइनमा उभिएका थिए ।

बिदा मनाउन आफ्ना गृहनगरतिर गइरहँदा कतिपयमा भने जापानमा आउन लागेका शक्तिशाली तुफानका कारण चिन्तित थिए । सोमबाददेखि जापानका पूर्वी र पश्चिमी क्षेत्रमा तुफान आउने आशंका छ ।

‘कोरोना भाइरसको महामारी सकिएको छ । हामी आफ्ना परिवार र नातेदारसँग एकाकार हुन उत्सुक छौं’, ४४ वर्षीय युसुके टाडा भने भने । उनी आफ्नो परिवारका ४ सदस्यसहित चिबा प्रिफेक्चरबाट पश्चिम जापानको यामागुची प्रिफेक्चर जान लागेका हुन् ।

उनले तुफानका कारण आफूहरु निर्धारित समयभन्दा अघि नै फर्किनसक्ने पनि बताए । जेआर टोकियो स्टेशनको शिंकानसेन प्लेटफर्ममा बिहानैदेखि मानिसहरुको भीड लागेको थियो ।

गत महिनाको अन्त्यमा जारी तथ्यांकअनुुसार आगामी साताका लागि स्थानीय र बुलेट ट्रेनमा आरक्षित सिटको संख्या गत वर्षको तुलनामा १.५ गुणाले बडाएर २७ लाख पुर्‍याइएको छ । जुन कोरोना भाइरसको प्रकोप सुरु हुनुभन्दा अघि २०१८ को तुलनामा ९२ प्रतिशत हो ।

यस्तै जापानका घरेलु उडानका लागि आरक्षण १.२ गुणा बढाएर ३७ लाख बनाइएको छ भने अन्तर्राष्ट्रिय उडानको आरक्षण दुई गुणा बडाएर ५ लाख ५६ हजार बनाइएको छ ।

यसै वर्षको मेमा सरकारले कोभिडलाई महामारीको सूचीबाट हटाएर सामान्य मौसमी फ्लुको सूचीमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?