जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलको अध्यक्षमा पुनः भवन भट्ट चयन

जापानमा नेपाली भाषाको पाठ्याक्रममा अध्ययन अध्यापन हुने स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलको व्यवस्थापन समितिको अध्यक्षमा पुनः भवन भट्ट निर्वाचित भएका छन् ।

स्कुलको प्रमोटरहरुको छैठौं अधिवेशनले आगामी दुई वर्षको कार्यकालका लागि व्यवस्थापन समितिको अध्यक्षमा पुनः भवन भट्टलाई निर्वाचित गरेको एनआरएनए जापानका अध्यक्ष तथा प्रमोटर शेयर सदस्य नविन निउरेले जानकारी दिए ।

यसैगरी सदस्यहरुमा भूषण घिमिरे, डा.बलराम श्रेष्ठ, ओम गुरुङ, कमलचन्द्र आचार्य, हवलचन्दै लामा, सगुन थापा, केशव थापा र कपिलदेव थापा चयन भएका छन् ।

अधिवेशनले भूषण घिमिरे, रोशन केसी र ओम गुरुङ रहेको विद्यालयको आन्तरिक लेखा परिचालन समिति पनि गठन गरेको छ ।

नवगठित व्यवस्थापन समितिलाई नयाँ कार्यकारी बोर्डको गठन गर्ने, योगदान, क्षमता र समावेशिताको आधारमा सल्लाहकारहरु चयन तथा आवश्यकता अनुसार सदस्यहरु थप गर्ने म्याण्डेट पनि अधिवेशनले दिएको छ ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापान हालसम्म नेपाल एजुकेशन सेन्टरको मातहतमा रही एनपीओ मोडेलमा सञ्चालन हुँदै आएको थियो । अब भने बिजनेश मोडलमा सञ्चालन गर्ने योजनाअनुसार ईआईएसजे कर्पाेरेशन (कम्पनी) को तत्वावधानमा सञ्चालन हुने भएको छ ।

स्कुल सञ्चालनलगायत अन्य व्यावसायिक गतिविधि सञ्चालन गर्न कम्पनीको कार्यकारी बोर्डमा फुजियो खाजुतोको संयोजकत्वमा मेघराज नेपाल, डा.भूपालमान श्रेष्ठ, दिपक सुबेदी र विश्वेश्वर रेग्मी चयन भएका छन् ।

अधिवेशनमा प्रिन्सिपल विष्णुप्रसाद भट्ट र सहायक प्रिन्सिपल राजेन्द्र तामाङले एकेडेमिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने व्यवस्थापन समितिका उपाध्यक्ष मेघराज नेपाल र स्कुलका लेखा संयोजक राजकुमार पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा एनआरएनए जापानका नवनिर्वाचित अध्यक्ष तथा एभरेष्ट ईन्टरनेशनल स्कुलका संस्थापक प्रमोटर नविन निउरेलाई स्कुलका तर्फबाट अध्यक्ष भट्टले बधाई ज्ञापन गर्नुका साथै कार्यकाल सफलताको कामना गरेका थिए ।

नर्सरीदेखि कक्षा १२ सम्म पढाई हुने एभरेष्ट स्कुलमा करिब ४ सय जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा हाल म्यानेजमेन्ट र साइन्स विषयको पठनपाठन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?