ओसाकामा यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार, ३ जना घाइते

जापानको ओसाकास्थित इजुमिसानोमा जेआर ट्रेनमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जना घाइते भएका छन् ।

प्रहरीले चक्कु प्रहार गर्ने ३७ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

२३ तारिख बिहान करिब साढे १० बजे ओसाकाको इजुमिसानो सहरको जेआर कान्साई एयरपोर्ट लाइनमा रहेको रिंकु उपत्यका स्टेशनका कर्मचारीले फायर डिपार्टमेन्टलाई एक व्यक्तिलाई चक्कुले प्रहार गरी घाइते बनाएको जानकारी गराएका थिए ।

प्रहरीका अनुसार क्योबासीबाट कान्साई विमानस्थल जाँदै गरेको रेलमा २३ वर्षीय पुरुषको अनुहार र घाँटीमा चक्कु प्रहार भएको थियो ।

आक्रमणकारीलाई रोक्ने कोशिस गरेपछि ७९ वर्षीय वृद्ध र रेलको चालक दलको कोठाबाट बाहिरिन खोज्ने २४ वर्षीय पुरुष कन्टक्टरको पनि हात काटिएको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको उपचार भइरहेको र उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ । हत्या प्रयास गरेको आरोपमा प्रहरीले आक्रमणकारी ३७ वर्षीय काजुया सिमिजुलाई तत्कालै पक्राउ गरेको छ ।

प्रहरीले ती व्यक्तिको साथमा रहेका ३ वटा चक्कु समेत बरामद गरेको छ ।

घटनाका कारण जेआर कान्साई विमानस्थलको हिनेनो र कान्साई विमानस्थलबीचका सबै रेल अवरुद्ध हुँदा हजारौं यात्रुले सास्ती भोग्नु परेको थियो भने उडान समेत अस्थायी रुपमा प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?