टोकियोमा नेपथ्यको सांगीतिक कार्यक्रम हुने

जापानको राजधानी टोकियोमा नेपालकै चर्चित संगीत ब्याण्ड नेपथ्यको सांगीतिक कार्यक्रम हुने भएको छ ।

हरेक सम्प्रदायलाई आफ्नो सांगीतिक प्रस्तुतिमा समेट्दै चर्चित बनेको नेपथ्यले जापानको राजधानी टोकियोको भव्य तोयोसु पिटको सांगितिक अडिटोरियम हलमा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।

आफ्नो स्थापनाकालदेखि नै ब्याण्डले विगतको नेपालको विरताको गाथा, वर्तमानको वास्तविकता, युवा पुस्ताको कथा र भावी नेपाललाई आफ्ना गीतमा प्रस्तुत गर्ने गायक अमृत गुरुङ र नेपथ्य एक अर्काका पर्याय बनेका छन् ।

त्यही नेपथ्य ब्याण्ड ४ वर्षपछि जापानमा सांगीतिक कोशेली लिएर नेपालीहरुसँगको भेट गर्न मानवताको लागि संगीत भन्ने नारासहित उपस्थित हुन लागेको हो ।

नेपथ्य व्याण्डको तर्फबाट गायक अमृत गुरुङसहित सुरज थापा किबोर्ड, सुबिन शाक्य बास गितार, धुर्व लामा ड्रम, निरज गुरुङ लिड गितार र शान्ति रायमाझी मादलको साथमा उपस्थित हुनेछन् ।

आफ्ना ११ एल्बमसहित पछिल्लो नैना ताल र भटभटे गीतबाट नेपाली मौलिक गीत संगीत पस्किएको नेपथ्यले टोकियोका दर्शकको रोजाइअनुसार आफ्ना दर्जन बढी गीत प्रस्तुत गर्नेछ ।

जसमा जोमसोमे बजारमा, तालको पानी, मै नाचे छमछमी, जोगले हुन्छ भेट, चरी मर्‍यो, छेक्यो छेक्यो देखि यो जीन्दगानी, शिरानमा फोटो छ, उडायो रेलैले समेटिने छन् ।

नेपथ्यको रेशम, भेडाको उन जस्तो, सा कर्णाली, रातो र चन्द्र सूर्यजस्ता सदावहार गीतले टोकियो गुञ्जायमान बनाउनेछ ।

टोकियोमा भिजोनिया कम्पनीले यसपटक नेपालीहरुमाझ नेपथ्यलाई प्रस्तुत गरेको हो । टोकियोमा अगष्ट ८ तारिख नेपथ्य व्याण्डको कन्सर्ट हुने निश्चित भएको कम्पनीका निर्देशक सुभास लामिछानेले बताए ।

टोकियोसँगै नेपथ्यको कन्सर्टका लागि गुन्मा, इबाराकीमा पनि टिकट बिक्री भइरहेको छ । डेस्टिनी क्रिएयसन डिसीले भिजोनिया कम्पनीको सहायक कम्पनीको रुपमा कन्सर्ट व्यवस्थापनको काम गरिरहेको छ ।

यसपटक टिकट बिक्रीसहित डिजिटल भुक्तानीको व्यवस्था मिलाएको भिजोनिया कम्पनीले जनाएको छ । एक सातामा १०० वटा टिकट बिक्री भइसकेको छ ।

हलमा मेसिनमा बारकोड रिड गराएर मात्र भित्र पस्न पाइने हुनाले सबैजनाले अनिवार्य रुपमा पहिले नै टिकट खरिद गर्नुपर्नेछ ।

अनलाइन मार्फत सामान्य टिकटतर्फ ६ हजार येन र नेपथ्य ब्याण्डको लोगो तथा अमृत गुरुङको तस्बिर अंकित विशेष टिसर्टसहितको टिकटको मूल्य एक मान येन तोकिएको छ ।

अनलाइनमा बुकिङ गराएर हलमा टिकट लिन चाहनेहरुका लागि भने ७ हजार येन तोकिएको छ ।

टोकियोको कोतो सिटीमा रहेको तोयोसु पिटमा हुने कन्सर्ट जापानी समयअनुसार साढे ६ बजे सुरु हुनेछ । दर्शक प्रवेशका लागि डेढ घण्टा पहिले नै हल खुला हुनेछ ।

जापानमा प्रायः आयोजना गरिने सांगितिक तथा सांस्कृतिक वा चलचित्र प्रदर्शनहरु साप्ताहिक वा सार्वजनिक बिदाको दिनमा हुँदै आएकोमा नेपथ्य व्याण्डको कन्सर्ट भने मंगलबारका लागि राखिएको छ ।

भिजोनिया कम्पनीले जापानमा पछिल्लो समय कबड्डी–४, जारी लगायत चलचित्रको जापानभरनै भव्य प्रदर्शन गराएको छ । टोकियोपछि ओसाकामा १७ अगस्टमा कन्सर्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?