मुस्कुराउन पनि तालिम लिँदैछन् जापानीहरु !

केइके कावानोका हालैका कक्षाहरुमध्ये एउटामा टोकियो आर्ट स्कुलका एक दर्जनभन्दा बढी विद्यार्थीहरु आफ्नो अनुहार ऐनामा हेर्दै अर्को हातले मुखको छेउलाई माथितिर तानिरहेका थिए ।

यो जापानी विद्यालयमा एउटा अनौठो अभ्यास र प्रयोग थियो । मुस्कुराउन पनि मानिसहरु पैसा तिर्न तयार हुन्छन् भन्दा तपाईलाई विश्वास नलाग्न सक्छ ।

तर मुस्कान प्रशिक्षकका रुपमा कावानोका सेवाहरुको माग जापानमा बढिरहेको छ । कोरोना भाइरसको महामारीका कारण लामो समय सामाजिक व्यवहार नै नियन्त्रित भयो ।

मानिसहरु मास्क नलगाइ बाहिर निस्किन नसक्ने अवस्थामा थिए । यस क्रममा जापानीहरुले मुस्कुराउन वा हाँस्न नै बिर्सिएपछि सिक्नुपर्ने अवस्था आएको उनको कक्षामा देखिएको सहभागिता र उनको कक्षको माग बढ्नुले देखाउँछ ।

आफ्नो स्कुलको पाठ्याक्रमका रुपमा मुस्कान कक्षा लिनेमध्ये एक हुन्, २० वर्षीया हिमावरी योशिदा । उनले आफूले मुस्कान फर्कान कोशिस गर्नुपर्ने अवस्था आएकाले कक्षामा सहभागी भएको बताएकी छन् ।

उनी भन्छिन्, ‘कोभिडको समयमा मैले मेरो अनुहारका मांसपेशी धेरै चलाइन । त्यसैले यो मुस्कानका लागि राम्रो अभ्यास हो ।’

कावानोको कम्पनी इगाओइकु अर्थात स्माइल एजुकेशनमा गत वर्षभन्दा यसवर्ष यस्ता कक्षाको माग चार गुणा बढेको छ ।

यहाँका केही कम्पनीहरुदेखि आफ्ना नागरिकको कल्याण सुधार गर्न खोज्नेहरु र सर्वसाधारण नागरिक समेत मुस्कान कक्षामा सामेल भइरहेका छन् । एक घण्टा लामो मुस्कान कक्षाको शुल्क ७ हजार ७०० येन पर्छ ।

जापान सरकारले कोरोना भाइरसलाई सामान्य मौसमी फ्लुको दर्जामा राख्दै मास्कको अनिवार्यता हटाएको छ । तर अझै पनि कतिपय जापानीहरुले मास्क लगाउन छाडेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?