
जापानमा विगत केही दिनदेखि परेको भारी वर्षाका कारण तीन जनाको मृत्यु भएको छ । बाढीपहिरोमा बेपत्ता भएका केहीको अझै खोजीकार्य जारी छ ।
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा भीषण वर्षा हुँदा ९ सयभन्दा बढी घरमा क्षति पुगेको छ । मध्यजापानका अधिकांश भाग डुबानमा परेका थिए ।
मध्य जापानको आइची र शिजुओका प्रान्तहरूमा आँधी र भारी वर्षाका कारण व्यापक क्षति पुगेको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बाढीपहिरोका कारण ठूलो संख्यामा स्थानीयबासीहरु सुरक्षित स्थानमा सर्नुपरेको थियो ।
बाढीमा परी बेपत्ता भएका इवाता सहरका ७४ वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको छ । उनको शव शिजुओका प्रान्तको फुकुरोईको तटमा फेला परेको हो ।
योसँगै बाढीबाट मृत्यु हुनेको संख्या तीन पुगेको हो । बाढीबाट आइचीमा २१७ र सिजुओकामा ७१७ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
बाढीका कारण पानीको आपूर्तिमा समेत समस्या भएको छ । बाढी कम भएपछि आवासीय क्षेत्रहरूमा पानी आपूर्ति सुचारु गर्न सरसफाई सुरु गरिएको छ ।






