जापानका १३ प्रतिशत विद्यार्थी महामारीका कारण डिप्रेसनमा

कोरोना भाइरसको महामारीको प्रभावका कारण जापानमा १३ प्रतिशत विद्यार्थी डिप्रेसनको सिकार भएको एक अध्ययनले देखाएको छ ।

यसरी डिप्रेसनमा पर्नेहरुमा प्राथमिकदेखि माध्यमिक स्तरका विद्यालयका बालबालिका छन् । जापानस्थित नेशनल सेन्टर फर चाइल्ड हेन्थ एन्ड डेभलपमेन्टले गरेको अध्ययनमा प्राथमिक र हाइस्कुलका १३ प्रतिशत विद्यार्थीमा मानसिक स्वास्थ्य समस्या देखिएको उल्लेख छ ।

सेन्टरले कोरोना भाइरसको प्रसार रोक्नका लागि लगाइएको व्यवहारमाथिको प्रतिबन्ध, मास्कको अनिवार्यता, कुराकानी नगरी खाना खाने, सार्वजनिक गतिविधिमाथिको नियन्त्रणजस्ता कारणले मानसिक स्वास्थ्यमा असर परेको उल्लेख गरेको छ ।

टोकियोस्थित सेन्टरले अप्रिलको अन्त्यमा प्रकाशित गरेको अध्ययनमा पाँच कक्षादेखि हाइस्कुलसम्मका ३ हजार विद्यार्थीमा सर्वेक्षण गरेको उल्लेख छ । जसमा १९ सय अर्थात करिब ६० प्रतिशतले प्रतिक्रिया दिएका थिए ।

सर्वेक्षणमा ध्यान केन्द्रित गर्नमा देखिएको असमर्थता, डिप्रेसनका प्रवृत्तिहरु, आत्म बल गुमाएको आदि अनुभवजस्ता कुरालाई हेरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये १३ प्रतिशतमा मध्यमदेखि गम्भीर लक्षणहरु पाइएको थियो ।

सन् २०२० मा ६ प्रतिशत र २०२१ मा ११ प्रतिशतमा डिप्रेसन देखिएको थियो । यो संख्यामा थप वृद्धि भएको देखिएको हो ।

कोभिड नियन्त्रणका लागि लगाएका प्रतिबन्धहरु खुकुलो भए पनि बच्चाहरुलाई मानसिक र शारीरिक रुपमा स्वस्थ हुन समय लाग्ने समेत सेन्टरले जनाएको छ ।

सेन्टरका सामाजिक चिकित्सा विभागका प्रमुख नाहो मोरिसाकीले भने, ‘वयस्कहरुले बच्चाहरुलाई सामान्यभन्दा बढी ध्यान दिनुपर्छ र उनीहरुको कुरा सुन्ने गर्नुपर्छ ।’

केन्द्रले महामारीका कारण बालबालिकामा परेको प्रभावका बारेमा अध्ययन पनि जारी राख्ने योजना बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?