
जापानमा भारी वर्षाका कारण एक जनाको मृत्यु भएको छ भने कम्तीमा तीन जना बेपत्ता भएका छन् ।
मौसम विभागले अत्यधिक वर्षाका कारण राजधानी टोकियोसहित अधिकांश क्षेत्रमा बाढी पहिरोको जोखिम बढेकाले सुरक्षित स्थानमा रहन स्थानीयबासीलाई सल्लाह दिएको छ ।
हामामात्सुको शिजुओका, टोबा, मिइ, आइची, चिबालगायतका क्षेत्रमा भिषण वर्षा भएको छ ।
टोयोहाशीमा शुक्रबार राति बाढीले कारभित्र फेला परेका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ भने शिजुओकामा पहिरोले घर भत्किँदा एक जना बेपत्ता छन् ।
वाकायामा प्रिफेक्चरमा बाढीले एक जनालाई नदीको नजिक र अर्को बाढीले सडकबाट बगाएको विश्वास अनुमान गरिएको छ । उनीहरु दुवै जनाको खोजी कार्य जारी छ ।
मौसम एजेन्सीका अनुसार पश्चिमी र मध्य जापानमा शनिबार पनि मेघगर्जनसहित भारी वर्षा भएको छ ।
नदीहरुको बढ्दो सतहका कारण आइची प्रान्तको टोयोहाशीसहित केही स्थानीय सरकारहरूले सबैभन्दा गम्भीर बाढीको चेतावनी जारी गरेका छन् ।
त्यहाँका स्थानीयबासिन्दाहरूलाई तत्कालै सुरक्षित ठाउँमा जान सल्लाह दिइएको छ ।
गिफु, शिजुओका, आइची र मिइ प्रिफेक्चरमा करिब २० लाख मानिसहरूलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सर्न सल्लाह दिइएको छ ।
शनिबार बिहानदेखि २४ घण्टाको अवधिमा शिजुओकामा ४९७.५ मिलिमिटर, टोबा, मिइ प्रिफेक्चरमा ४९०.५ मिलिमिटर र आइची प्रिफेक्चरको टोयोहाशीमा ४१९ मिलिमिटर वर्षा भएको मौसम विभागले जनाएको छ ।
शनिबार बिहान चिबाको फुनाबाशीमा ४७.५ मिलिमिटर र टोकियोको नेरीमा ४५ मिलिमिटर वर्षा भएको थियो । आइतबार बिहान ६ बजेदेखि २४ घण्टासम्म टोकियोको दक्षिणमा रहेको इजु टापुमा १२० मिलिमिटर, कान्तो–कोशिन क्षेत्रमा १०० मिलिमिटर र तोकाइको मध्य क्षेत्रमा ४० मिलिमिटर वर्षा हुने अनुमान छ ।
