एयरफोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिए बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेन कोलोराडो राज्यमा एयर फोर्स एकेडेमीको कार्यक्रमका क्रममा भुइँमा पछारिन पुगेका छन् ।

दीक्षान्त समारोहमा सहभागी हुन गएका बाइडेन मन्तव्य दिएर क्याडेटसँग हात मिलाउँदै आफ्नो सिटतर्फ जाने क्रममा भुइँमा पछारिएका थिए ।

वायुसेनाका अधिकारीहरूले उनलाई उठ्न सहयोग गरेका थिए । उठ्ने क्रममा उनी केही असहज देखिएका छन् ।

ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीट गर्दै राष्ट्रपतिलाई चोट नलागेको र ठिक रहेको स्पष्ट पारेका छन् । बालुवा भरेको बोरामा खुट्टा अड्किएर उनी लड्न पुगेका हुन् ।

८० वर्षीय बाइडेन अमेरिकामा राष्ट्रपति पद सम्हाल्ने सबैभन्दा वृद्ध नेता हुन् । उनले २० जनवरी, २०२१ मा राष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।

बाइडेन यसअघि पनि पटक पटक सार्वजनिक स्थानमा लडेका थिए । गत फेब्रुअरी २३ मा पोल्याण्डबाट अमेरिका फर्कने क्रममा एयरफोर्स वनको भ¥याङ उक्लिइरहेको बेला पनि उनी लडेका थिए ।

त्यस्तै १६ नोभेम्बर २०२२ मा जी–२० शिखर सम्मेलनमा भाग लिन बाली गएका बेला पनि जंगलमा हिंड्ने क्रममा उनी लडेका थिए भने सोही वर्ष जुनमा लस एन्जलसमा टेलिभिजन अन्तर्वार्ता दिन जाने क्रममा विमानको भ¥याङ चढ्ने बेला उनी ठोक्किएर लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?