जापानमा खाइनसक्नु अण्डा, ६० प्रतिशत बढ्यो मूल्य

जापानमा यसवर्ष कुखुराको अण्डाको मूल्यमा अत्यधिक वृद्धि भएको छ । बर्डफ्लुका कारण अण्डा उत्पादन गर्ने लाखौं लेयर्स कुखुरा मार्नुपरेको तथा खाद्यान्नको मूल्यवृद्धिसँगै अण्डाको मूल्य अकाशिएको हो ।

जापानमा लगातार चौथो महिना अण्डाको मूल्यमा रेकर्ड वृद्धि भएको छ ।

राजधानी टोकियो क्षेत्रमा मध्यम आकारको एक किलोग्राम अण्डाको औसत मूल्य मे महिनामा ३५० येन पुगेको छ । यो गत वर्षको तुलनामा ५९.८ प्रतिशत बढी हो । गत वर्ष एक केजी अण्डाको मूल्य १३१ येन थियो ।

अप्रिलदेखि अण्डाको मूल्यमा चर्को वृद्धिदर केही कम भएको छ । तर सन् १९९२ देखि राख्न थालिएको तथ्यांकअनुसार लगातार चार महिनाको उच्चतम वृद्धि हो ।

कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार डिसेम्बरमा क्रिसमस केक र नयाँ वर्षका परिकारको माग बढेपछि अण्डाको मूल्यमा कमी आउने गर्छ । तर यो वर्ष अन्तर्राष्ट्रिय स्तरमै दानाको मूल्य बढ्दा अण्डाको मूल्यमा पनि कमी आउन सकेको छैन ।

यो वर्षको सुरुमै बर्डफ्लुका कारण १ करोड ६० लाखभन्दा बढी कुखुरा नष्ट गर्नुपरेपछि अण्डा उत्पादनमा कमी आएको छ । जसका कारण मूल्य आकाशिएको हो ।

गत अप्रिलदेखि भने जापानमा बर्डफ्लुको प्रकोप देखिएको छैन भने कुखुरापालक तथा अण्डा उत्पादकहरुले पुन ढुवानी सुरु गरेका कारण विस्तारै मूल्यमा कमी आउने मन्त्रालयको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?