
जापानले रुसमाथि थप कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । हिरोसिमामा भएको जी–७ शिखर सम्मेलनमा रुसमाथि प्रतिबन्ध कायम राख्दै थप प्रतिबन्ध लगाउने सहमति भएको थियो ।
त्यसलगत्तै शुक्रबार बसेको जापानको मन्त्रिपरिषद्को बैठकले यो योजनालाई स्वीकृत गरेको हो ।
जी–७ नेताहरुले कुनै तेस्रो देशका माध्यमबाट यो प्रतिबन्धबाट बच्ने उपाय रोक्नका लागि मिलेर काम गर्ने पनि संकल्प गरेका थिए ।
जापान सरकारका अनुसार २४ व्यक्ति र ७८ संगठनलाई प्रतिबन्धको सूचीमा सामेल गर्दै उनीहरुको सम्पत्ति पनि फ्रिज गरिने भएको छ । यसमा रुसी प्याराट्रुपर टुकडीका एक कमाण्डर पनि छन् ।
यसका साथै जापान रुसका मशिनरी कारखानासहित सेनासँग सम्बन्धित ८० संगठनमा हुने निर्यातमा पनि रोक लगाउने भएको छ । रुसलाई दिइने निर्माण तथा अन्य सेवा पनि रोकिने भएको छ ।
