जापानले युक्रेनलाई १०० सैन्य सवारी साधन दिने

जापानले युक्रेनलाई १०० सैन्य प्रयोजनका सवारी साधनहरु उपलब्ध गराउने भएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटमा युक्रेनलाई सैन्य सहयोग गर्ने सहमति जनाएका हुन् ।

जापानले १० जना अटाउन सक्ने उच्च गतिका सवारी साधनहरु, साथै ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको स्वामित्वमा रहेका क्यारियर डम्प ट्रकहरु उपलब्ध गराउने छ । यस्तै करिब ३० हजार प्याकेट आपतकालीन खाना पनि उपलब्ध गराउनेछ ।

रक्षा राज्यमन्त्री इनो तोशिरोले युक्रेनलाई दिइने सामग्रीको सूची युक्रेनी राजदूतलाई हस्तान्तरण गरेका थिए । युक्रेनलाई दिइने यी सबै गाडीहरुले जापान सेल्फ डिफेन्स फोर्सका मिसनहरुमा महत्वपूर्ण भूमिका खेलेको इनोले बताए ।

जापानभरका सैन्य एकाईहरुबाट संकलन गरी ती सवारी साधनहरु युक्रेन पठाइनेछ ।

जापानका लागि युक्रेनी राजदूत सर्गी कोर्सुनस्कीले सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै जापान भरपर्दो, महत्वपूर्ण साझेदार भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?