बाइडेन जी–७ शिखर सम्मेलनमा भाग लिन हिरोसिमा जाने

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ शिखर सम्मेलनमा भाग लिने क्रममा आगामी बिहीबारदेखि चार दिने जापान भ्रमण गर्ने ह्वाइट हाउसले पुष्टि गरेको छ ।

डेमोक्रेट र रिपब्लिकन पार्टीबीच केही महत्वपूर्ण विषयमा वार्ता जारी रहेका बेला बाइडेनको जापान भ्रमण नहुनसक्ने अड्कलबाजीबीच ह्वाइट हाउसले पूर्वनिर्धारित भ्रमण हुने जनाएको हो ।

वार्ताको नतिजाका आधारमा बाइडेनले आफू व्यक्तिगत रुपमा जी–७ शिखर सम्मेलनमा भाग लिन नसक्ने संकेत समेत गरेका थिए ।

यसपटक जी–७ को शिखर सम्मेलन जापानको हिरोसिमामा हुँदैछ । जहाँ अमेरिकाले दोस्रो विश्वयुद्धका क्रममा परमाणु बम खसाएको थियो ।

सम्मेलनमा युक्रेनमा रुसी हमला, विश्वव्यापी रुपमा देखिएको खाद्य संकट, युक्रेनमा आवश्यक मानवीय सहयोगसहित विश्वका सामू देखिएका महत्वपूर्ण चुनौतीबारे छलफल हुनेछ ।

बाइडेनले हिरोसिमामा सन् १९४५ मा अमेरिकी परमाणु हमलाका लागि माफी माग्छन् भनी सोधिएको प्रश्नमा भने ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले अर्को साता के हुन्छ भन्ने अहिले नै कुनै छलफल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?