
जापान सरकारको ऋण सहयोगमा ६ जिल्लामा २७४ विद्यालय भवनको निर्माण सम्पन्न भएको छ ।
२०७२ सालको भूकम्पले क्षति पुगेका विद्यालय भवन पुनर्निर्माण अन्तर्गत २७४ विद्यालय भवनको निर्माण सम्पन्न भएको हो ।
जापानी सहयोग नियोग जाइकाको सहयोगमा शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय स्तरको कार्यान्वयन इकाइले ‘आपतकालीन विद्यालय पुनर्निर्माण कार्यक्रम’ ८ वर्षमा सम्पन्न गरेको हो ।
जाइका र नेपाल सरकारबीच सन् २०१५ को डिसेम्बरमा विद्यालय पुनर्निर्माणका लागि १५ अर्ब २० करोड रुपैयाँको ऋण सम्झौता भएको थियो ।
बालबालिका र अपांगमैत्री रुपमा निर्माण गरिएका विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी क्षमताको प्रविधि प्रयोग गरी निर्माण गरिएका छन् ।
ललितपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट र मकवानपुरमा निर्माण भएका २७४ विद्यालयहरूमा २२ सय ३ कक्षा कोठाहरू, ११६ प्रयोगशालाहरू र १८४ पुस्तकालय छन् ।
शिक्षा मन्त्रालयको इकाईले यो परियोजनालाई हेर्नुअघि पुनर्निर्माण प्राधिकरणले नेतृत्व लिएर काम गराएको थियो ।
निर्माण सम्पन्न भएकोमा नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल सरकार र परियोजनामा सम्बन्धित निकायलाई धन्यवाद दिए ।
शिक्षामन्त्री अशोककुमार राईले भूकम्पपछिको पुनर्निर्माणमा जापान सरकारले गरेको सहयोगप्रति धन्यवाद दिए ।
