जापानको प्रशान्त क्षेत्रमा मुसलधारे वर्षाको चेतावनी

जापानको मौसम विभागले प्रशान्त महासागरको तटवर्ती इलाकामा सोमबारसम्म भारी वर्षाको सम्भवना रहेको बताएको छ ।

विभागले वर्षाका कारण बाढी र पहिरो आउने खतरा रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । विभागका अनुसार क्युसुदेखि तोहुकुसम्म व्यापक वर्षाको सम्भावना छ ।

विभागले कान्तोदेखि क्युसु र अन्य क्षेत्रका प्रशान्त तटमा ३० मिलिमिटर प्रतिघन्टा भन्दा अधिक वर्षा हुने सम्भावना रहेको जनाएको छ । क्युशु र तोकाईसहित केही क्षेत्रमा ५० मिलिमिटर प्रतिघन्टा वर्षा हुनसक्ने सम्भावना छ ।

सोमबारसम्म शिकोकु र तोकाई क्षेत्रमा २०० मिलिमिटर, दक्षिणी क्युशु, किंकी र कान्तो–कोशिन क्षेत्रमा १८० मिलिमिटर, उत्तरी क्युशुमा १५० मिलिमिटर, ओकिनावा, आमामी र होकुरिकुमा १२० मिलिमिटर तथा इजु द्विप समूहमा १०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ ।

मौसम विभागले तल्लो इलाकामा बाढी, भूस्खलनको सम्भावना रहेकाले सतर्क रहन आम मानिसलाई अपिल गरेको छ । यस्तै आँधी, उच्च समुद्री लहर, चट्याङ पर्ने समेत सम्भावना रहेकाले सावधन रहन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?