सर्वेक्षण भन्छ–४५ प्रतिशत जापानी युवाको मनमा आत्महत्या सोच छ

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र जापानमा डरलाग्दो तथ्य बाहिर आएको छ ।

एकातिर मृत्युदरको तुलनामा जन्मदर कम हुँदा जनसंख्या निरन्तर ओरालो लागिरहेको छ भने अर्कोतिर आत्महत्याको सोच राख्ने जापानीको संख्या ठूलो रहेको देखिएको छ ।

टोकियोस्थित एक गैर सरकारी संस्थाले गरेको सर्वेक्षणअनुसार जापानमा करिब हरेक दुई जनामध्ये एक जना युवाको मनमा आत्महत्याको सोच आउने देखिएको छ ।

निप्पोन फाउन्डेसनले गरेको सर्वेक्षणमा १८ देखि २९ वर्षका करिब १४ हजार ५५५ जना सामेल भएका थिए । जसमध्ये ४४.८ प्रतिशले आफन्तहरुसँगको सम्बन्ध, डरधम्की र भविष्यको शैक्षिक या करियरको चिन्ताका कारण आत्महत्याको सोच मनमा आउने गरेको बताएका छन् ।

यो भन्दा पनि डरलाग्दो कुरा त के छ भने ४४.८ प्रतिशतमध्ये ४० प्रतिशतले आफूले आत्महत्याको प्रयास गरेको वा आत्महत्याको दिशामा कुनै न कुनै कदम चालेको बताएका छन् ।

फाउन्डेसनले १० नोभेम्बरदेखि १८ नोभेम्बरमा गरेको अनलाइन सर्वेक्षणबाट तथ्यांक संकलित गरेपछि नतिजा सार्वजनिक गरेको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार जापानमा सन् २०१९, २०२० र २०२१ मा युवा युवतीको मृत्युको प्रमुख कारणमध्ये एक आत्महत्या थियो ।

प्रहरीका अनुसार यी वर्षमा क्रमशः २ हजार ११७, २ हजार ५२१ र २ हजार ६११ जना २० देखि २९ वर्षका युवायुवतीको मृत्यु आत्महत्याका कारण भएको थियो ।

एजेन्सीका अनुसार सन् २०२२ मा यो उमेर समूहका २ हजार ४८३ जनाले आत्महत्या गरेका थिए । निप्पोन फाउन्डेसनले गरेको सर्वेक्षणमा सहभागी ७ मध्ये एक जनाले यौन हिंसाको सामना गरेको उल्लेख गरेका छन् ।

यसरी यौन शोषणमा परेकाहरुमा अरु व्यक्तिमा भन्दा ३७ प्रतिशत बढी आत्महत्याको सोच आउने सम्भावना रहेको पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?