नेपाली दूतावासको घुम्ती शिविरमा ५२३ जनालाई प्रत्यक्ष सेवा

नेपाली दूतावास जापान र एनआरएनए कान्साई क्षेत्रीय समितिको पहलमा ओसाकामा सञ्चालित चार दिने घुम्ती शिविरबाट ५२३ जना नेपालीले प्रत्यक्ष सेवा लिएका छन् ।

कान्साई क्षेत्रका विभिन्न संघ संस्थाको सहयोग र सहकार्यमा घुम्ती शिविर सञ्चालन गरिएको हो । शिविरबाट राहदानीसहित कन्सुलर सेवा प्रत्यक्ष रुपमा प्रदान गरिएको छ ।

सेवाग्राहीको चाप बढेका कारण बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिइएको थियो । घुम्ती शिविरमा नेपाली दूतावास टोकियो पुग्नैपर्ने बाध्यतामा रहेका नेपालीहरुले प्रत्यक्ष सेवा लिन पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

शिविरबाट ५२३ जनाले प्रत्यक्ष सेवा र २ सयभन्दा बढीले परामर्श सेवा लिएका थिए ।

घुम्ती शिविरमार्फत पासपोर्ट, ट्राभल डकुमेन्ट, राष्ट्रियता प्रमाणीकरण, अधिकृत वारेसनामा, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहिता र नाता सम्बन्ध प्रमाणीकरण, जापान सरकारबाट जारी भएका जन्मदर्ता, विवाहदर्ता, सम्बन्ध बिच्छेद आदि कागजात प्रमाणीकरण लगायतका सेवा उपलब्ध गराएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?