
अधिकांश जापानीहरु आकस्मिक गर्भनिरोधक चक्कीको खुला बिक्रीको पक्षमा देखिएका छन् ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले औषधि पसलका काउन्टरमा सिधैं चक्की बेच्नेबारे सर्वसाधारणहरुसँग राय बुझ्दा त्यसको पक्षमा ९७ प्रतिशत जापानी देखिएका छन् ।
मन्त्रालयले मर्निङ–आफ्टर पिलको व्यवसायिकीकरणबारे छलफल गर्न विज्ञहरुको बैठक बोलाउने तयारी गरिरहेको छ ।
जापानमा आकस्मिक गर्भनिरोधक यस्ता चक्की किन्न डाक्टरको प्रेस्क्रिप्सन चाहिन्छ ।
तर आफू बसेको स्थान नजिक गाइनाकोलोजिष्टको क्लिनिक नभएको वा डेट रेप वा अन्य अपराधिक गतिविधिको शिकार भएकोलगायतका कारण केही महिलाहरु स्वास्थ्य संस्थामै गएर डाक्टरको प्रेस्क्रिप्सन लिन नसक्ने अवस्थामा हुन्छन् ।
मन्त्रालयले गर्भनिरोध चक्कीको औषधि पसलहरुमा खुला बिक्रीबारे सन् २०२२ को डिसेम्बरदेखि सन् २०२३ को जनवरीसम्ममा सर्वसाधारणहरुको राय संकलन गरेको थियो ।
संकलन गरिएको ४६ हजार ३ सय रायमध्ये करिब ४५ हजार चक्कीको व्यवसायिकीकरणको पक्षमा देखिएका छन् । यो भनेको झन्डै ९७ प्रतिशत हो । करीब ३ सय राय मात्रै खुला बिक्रीको विपक्षमा थिए ।
आकस्मिक गर्भनिरोधको चक्की यौन अपराध र यौंन हिंसाका पीडितहरुले मात्रै प्रयोग गर्छन् भन्नु नै गलत भएको एक जनाको राय थियो ।
जापान सरकारले सन् २०१७ मा पनि गर्भनिरोधक चक्कीको व्यवसायिकीकरणको प्रयास गरेको थियो । तर यसको दुरुपयोग र गलत प्रयोग हुने चिन्ताका कारण चक्कीको प्रभावहिनतालाई औंल्याउँदै योजना थाँती राखिएको थियो ।
