
नयाँ निर्वाचन घोषणाको चर्चाबीच जापानमा प्रधानमन्त्री फुमियो किशिदाको सरकारप्रति जनताको समर्थन बढेको देखिएको छ ।
निक्केई पत्रिकाले गरेको सर्वेक्षणमा किशिदाको मन्त्रिपरिषद्लाई ५० प्रतिशतभन्दा बढीले समर्थन गरेका छन् ।
किशिदाको सरकारलाई पछिल्लो ८ महिनापछि पहिलो पटक ५० प्रतिशतभन्दा बढीले समर्थन गरेको पाइएको छ ।
निक्केईले सार्वजनिक गरेको जनमत सर्वेक्षणको नतिजाअनुसार किशिदा सरकारलाई करिब ५२ प्रतिशतले समर्थन गरेका छन् । यो अघिल्लो महिनाको भन्दा ४ प्रतिशत बढी हो ।
हालै सार्वजनिक भएका अन्य दुई जनमत सर्वेक्षणमा पनि किशिदा प्रतिको समर्थन बढेको थियो । पत्रिकाले शुक्रबारदेखि आइतबारबीच देशव्यापी सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा अझै ४० प्रतिशत जापानीहरु सरकारप्रति असन्तुष्ट रहेको पाइएको छ । अप्रिलमा पाँच ओटा संसदीय क्षेत्रमध्ये ४ ओटाको निर्वाचनमा सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले जित हात पारेको थियो ।
किशिदा सरकारप्रति गत वर्ष अगष्टसम्म पनि जनसमर्थन ५० प्रतिशतमाथि नै थियो ।
तर सत्तारुढ दलका नेताहरुको विवादास्पद धार्मिक समूह युनिफिकेशन चर्चसँगको सम्बन्ध, मन्त्रीहरु नै एकपछि अर्को विवाद र घोटालामा मुछिनु तथा महंगी नियन्त्रणमा असफलता जस्ता कुराले सरकारलाई अलोकप्रिय बनाएको थियो ।
क्योदो न्यूजले गरेको सर्वेक्षणमा किशिदामाथिको समर्थन साढे ८ अंकले बढेर ४६.६ प्रतिशतमा पुगेको देखिएको छ भने जेएनएनले गरेको तेस्रो जनमत सर्वेक्षणमा २.९ प्रतिशतले बढेर ४७.२ प्रतिशत पुगेको थियो ।
