नेपाली दूतावासको ओसाका घुम्ती शिविरमा सेवाग्राहीको भीड

जापानस्थित नेपाली दूतावासले कान्साईमा आयोजना गरेको घुम्ती शिविरमा सेवाग्राहीको भीड लागेको छ ।

नेपाली दुतावास जापानको आयोजना तथा एनआरएनए कान्साई क्षेत्रीय समितिसहित विभिन्न संघसंस्थाको सहयोगमा चार दिने घुम्ती शिविर आयोजना गरिएको हो । शिविरमा सेवाग्राहीहरुको अत्यधिक भीड लागेपछि दर्जनौंलाई टोकन दिएर पठाइएको छ ।

शिविरको जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले उद्घाटन गरेका थिए । शिविरको पहिलो दिन शनिबार ११८ जनाले प्रत्यक्ष सेवा लिएका थिए ।

सेवाग्राहीको भीडलाई मध्यनजर गर्दै आइतबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म सञ्चालन गरिएको छ । आइतबार १४० जनाले सेवा लिएको नेपाली दूतावास जापानले जानकारी दिएको छ ।

घुम्ती शिविरमा नेपाली दूतावासका तर्फबाट प्रथम सचिव जितबहादुर कार्की, तृतीय सचिव ज्ञानहरि ज्ञवालीसहित अवैतनिक वाणिज्य दूतावास फुकुओकाका सचिव दिपक देवकोटा खदिएका छन् ।

घुम्ती शिविरमार्फत पासपोर्ट, ट्राभल डकुमेन्ट, राष्ट्रियता प्रमाणीकरण, अधिकृत वारेसनामा, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण, जन्मदर्ता, अविवाहिता र नाता सम्बन्ध प्रमाणीकरण, जापान सरकारबाट जारी भएका जन्मदर्ता, विवाहदर्ता, सम्बन्ध बिच्छेद आदि कागजात प्रमाणीकरण लगायतका सेवा उपलब्ध गराएको दूतावासले जनाएको छ ।

घुम्ती शिविर मंगलबारसम्म सञ्चालन हुनेछ । आइतबार समय अभावका कारण फर्किएका ४० जनासहित १५० जनालाई सोमबार सेवा दिने लक्ष्य राखिएको आयोजकले जनाएको छ । चार दिने घुम्ती शिविरमा करिब ६ सय जनालाई सेवा उपलब्ध गराउने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?