जापानी प्रधानमन्त्री किशिदा दक्षिण कोरिया जाने

जापानी प्रधानमन्त्री फुमियो किशिदा आगामी महिना दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन् ।

राष्ट्रपति युन सुक–एओलसँग छलफलका लागि किशिदा मे ७ र ८ मा दक्षिण कोरिया जान लागेका हुन् । यो भ्रमणका विषयमा जापानी अधिकारीहरुले दक्षिण कोरियाली समकक्षीहरुसँग समन्वय गरिरहेको बताइएको छ ।

यो सन् २०११ यता जापान र कोरियाली शीर्ष नेताहरुबीचको पहिलो पारस्परिक भ्रमण हुनेछ । मार्चमा दक्षिण कोरियाली राष्ट्रपतिले जापान भ्रमण गरेका थिए ।

युनको जापान भ्रमणका समयमा पारस्परिक भ्रमणको सहमति भएको थियो । सोही अनुसार किशिदा जापान जान लागेका हुन् । आसन्न भेटवार्ता व्यापार र राष्ट्रिय सुरक्षामा केन्द्रीत हुने बताइएको छ ।

यसअघि जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेले सन् २०१८ को फेब्रुअरीमा दक्षिण कोरियाको भ्रमण गरेका थिए ।

किशिदाले युनलाई मे–१९ देखि २१ को बीचमा हिरोशिमामा हुन लागेको जी–सेभेनको शिखर सम्मेलनमा सहभागी हुने निम्तो दिइसकेका छन् ।

हालै मात्रै जापानले दक्षिण कोरियालाई व्यापारमा सहुलियतपूर्ण हैसियत फिर्ता दिएको छ । पछिल्लो समयमा जापान र कोरियाबीचको सम्बन्ध सुधारको पहल भइरहेको छ ।

दोस्रो विश्वयुद्धको समयमा क्षतिपूर्ति दाबीसहितको मुद्दा र क्षतिपूर्ति तथा व्यापारका विषयलाई लिएर दुई देशबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?