
कोभिड नियन्त्रणका लागि जापानले लगाएका सबै अध्यागमन नियमहरु खारेज गरेको छ । योसँगै अब जापान जाने व्यक्तिहरुले कोरोनाविरुद्धको खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने छैन ।
जापान सरकारले मे ८ देखि कोभिड सीमा नियन्त्रण हटाउने घोषणा गरे पनि त्यसअघि नै शनिबारदेखि कोभिड सीमा नियन्त्रण हटाएको हो ।
जापानमा गोल्डेन विकमा यात्रुहरुको संख्या वृद्धि हुने अपेक्षासहित कोभिड सीमा नियन्त्रणका उपाय हटाएको हो ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले जापान प्रवेश गर्नुअघि कोभिड खोपका तीन मात्रा लगाएको र ७२ घन्टाअघिको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नु नपर्ने जानकारी गराएका छन् ।
यो घोषणासँगै जापान प्रवेश गर्ने यात्रुहरुका लागि प्रवेश नियम कोभिड संक्रमणअघिको अवस्थामा पुगेको छ ।
यसअघि जापानले कोभिड नियन्त्रणका सीमा नियन्त्रणका उपाय ८ मेदेखि हटाउने योजना बनाएको थियो । सोही दिन जापानले कोभिडलाई सामान्य रुघाखोकीको स्तरमा झार्ने निर्णय गरिसकेको छ ।
तर गोल्डेन विकलाई ध्यानमा राख्दै सरकारले एक साताअघि नै सीमा नियन्त्रण हटाएको हो । जापान सरकारले चीनबाट आउने पर्यटकहरुलाई विमानस्थलमा पीसीआर परीक्षण गर्न गर्ने गरेको अनुरोध पनि हटाएको छ ।
डिसेम्बरको अन्तयमा चीनमा कोरोनाको संक्रमण तीव्र बनेपछि जापानले विमानस्थलमा परीक्षणको नियम लगाएको थियो ।
८ मेबाट हानेदा, नारितासहित अन्य तीन प्रमुख विमानस्थलमा नयाँ जिनोमिक निगरानी कार्यक्रम सुरु गर्नेछ । जसअन्तर्गत ज्वरो लगायतका लक्षणहरु भएका यात्रुलाई स्वेच्छिक परीक्षण गर्न अनुरोध गरिनेछ ।
