आफ्नै घाँटीमा छुरा हानेर लुटपाटको कहानी बनाउने महिला पक्राउ

आफैंले घाँटीमा छुरा प्रहार गरी लुटपाटको कहानी बनाउने एक महिलालाई जापान प्रहरीले पक्राउ गरेको छ ।

जापानको साइतामा प्रिफेक्चरको कोशिगायाका प्रहरीले एक अधबैंसे महिलालाई पक्राउ गरेको हो ।

यसै महिनाको सुरुमा आफूमाथि चक्कु प्रहार गरेर लुटपाट भएको भन्दै ५२ वर्षीया ती महिलाले उजुरी गरेकी थिइन् ।

प्रहरीका अनुसार ती महिलाले अप्रिल १० को राति करिब साढे ३ बजे ११० मा फोन गरेर आफू साइकल चलाएर घर फर्किने क्रममा एक अज्ञात पुरुषले आफ्नो घाँटी रेटेको र पर्स र साइकल चोरेको बताएकी थिइन् ।

तर सडकको सर्भिलियन्स क्यामराको फुटेज हेर्दा प्रहरीले घटनाको समयमा ती महिला बाहेक अरु कसैलाई सडकमा नभेटिएको जनाएको छ ।

ती महिलालाई घाँटीमा काटेर बनेको घाउ भने थियो । सो घाउको उपचारका लागि उनलाई अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

सोधपुछका क्रममा ती महिलाले आफैंले घाँटीमा छुरा हानेको र मनगढन्ते कहानी बुनेको स्वीकार गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?