
जापानको स्वास्थ्य मन्त्रालयको फर्मा मामिला तथा खाद्य स्वच्छता परिषद्ले गर्भपतनको चक्कीलाई मान्यता प्रदान गरेको छ ।
परिषद्ले बेलायती फर्मा कम्पनी लाइनफर्मा इन्टरनेशनल लिमिटेडले विकास गरेको चक्कीलाई स्वीकृति दिएको हो । मिफिगो प्याक नामक सो औषधिले चाँडै नै औपचारिक अनुमति पाउने अपेक्षा गरिएको छ ।
यो जापानमा प्रयोगको अनुमति पाउने गर्भपतनको पहिलो खाने चक्की हुनेछ । जनवरीमा उपसमिति मातहतको विज्ञहरुको एउटा समितिले सो औषधिलाई मञ्जुरी दिएको थियो ।
तर मन्त्रालयले सर्वसाधारणको सुनेर उपसमितिमा सो चक्कीबारे छलफल गर्ने निर्णय गरेको थियो । मार्चमा नै उपसमितिमा औषधिबारे छलफल गर्ने भनिए पनि सर्वसाधारणका १२ हजार रायको अध्ययनमा समय चाहिएपछि पछि सरेको हो ।
दुई तिहाई सर्वसाधारणले सो चक्कीलाई अनुमति दिनु पर्ने पक्षमा राय दिएका थिए । गर्भपतनको खाने चक्की अहिले विश्वका ६५ वटा देश तथा क्षेत्रमा उपलब्ध छ ।
सबैभन्दा पहिले फ्रान्सले सन् १९८८ मा यस्तो औषधिलाई मान्यता दिएको थियो ।
