
जापानमा मुलुककै पहिलो क्यासिनो रिसोर्ट निर्माण हुने भएको छ । जापानी अधिकारीहरुले यो विवादास्पद योजनालाई अनुमोदन गरेका हुन् । क्यासिनो सन् २०२९ सम्ममा पश्चिमी सहर ओसाकामा खुल्नेछ ।
क्यासिनो खोल्न जापानमा लामो समयदेखि अवैध मानिन्छ । तर, सरकारले सन् २०१८ मा एउटा कानुन पारित गरेको थियो, जसमा पोकर वा ब्याकराट खेलहरु समावेश छन् ।
त्यसलाई टेकेर क्यासिनो परियोजना अनुमोदन गरिएको हो । यो क्यासिनोमार्फत रोजगारी सिर्जना गर्न र पर्यटनलाई बढावा दिने उद्देश्य राखिएको छ ।
अपराध र जुवाको लतमा भएको वृद्धिबारे भने केही चिन्ताबीच जनमत विभाजित छ । क्यासिनोबाहेक ५३ लाख स्क्वायर फुट कम्प्लेक्समा होटल, कन्फरेन्स सेन्टर, सपिङ मल र संग्रहालय स्थापना गरिनेछ ।
जापानी प्रधानमन्त्री फुमियो किशिदाले क्यासिनो पर्यटनको आधार बन्ने र विश्वमा जापानको आकर्षणलाई बढावा दिने विश्वास व्यक्त गरेका छन् ।
यस परियोजनाको प्रारम्भिक लगानी १३.५ अर्ब डलर छ । अमेरिकामा रहेको क्यासिनो अपरेटर एमजीएम र जापानको ओरिक्स समूह प्रत्येक कम्पनीमा ४० प्रतिशत सेयरको स्वामित्वमा छ ।
अन्य २० प्रतिशत वेस्ट जापान रेल, कान्साई इलेक्ट्रिक पावर र ओसाकामा आधारित प्यानासोनिक जस्ता स्थानीय कम्पनीहरूको स्वामित्वमा हुनेछ ।
रिसोर्टले वार्षिक करिब २ करोड आगन्तुकहरूलाई आकर्षित गर्ने र यस क्षेत्रको वार्षिक आर्थिक लाभमा करिब १ ट्रिलियन येन ल्याउने अधिकारीहरूको आशा छ ।
यो परियोजना वर्षौंअघि प्रस्ताव गरिएको थियो । तर, कोभिड–१९ महामारी र क्यासिनो नीतिको जिम्मेवारीमा रहँदा घुस लिएको आरोपमा सत्तारुढ दलका एक सांसदको भ्रष्टाचार काण्डका कारण ढिलाइ भएको थियो ।
जापान जुवाका एक आशालाग्दो बजार मानिन्छ । करिब १२ करोड ६० लाख जनसंख्या भएको संसारको तेस्रो ठूलो अर्थव्यवस्था जापनमा जुवा खेल्ने धनी एसियाली धेरै छन् ।
