
जापानमा सन् २०२२ मा टाट पल्टिएर बन्द हुने कम्पनीको संख्या बढेको छ ।
क्रेडिट अनुसन्धान कम्पनी तेइकोकु डेटाबैंकको अध्ययन अनुसार मार्चमा सकिएको आर्थिक वर्षमा व्यवसाय चलाउनै नसकेर बन्द गरी दामाशाहीमा गएका व्यवसायहरुको संख्या ६ हजार ७९९ पुगेको छ ।
पछिल्ला तीन वर्षमा पहिलो पटक बन्द हुने कम्पनीको संख्या बढेको हो । अधिकांश कम्पनीहरु कोभिड राहत कर्जा पुनः भुक्तानी गर्न नसकेर टाट पल्टिएका हुन् ।
यसमा कम्तीमा १ करोड येन ऋण भएका कम्पनीहरुलाई समावेश गरिएको छ । अध्ययनमा समावेश भएका अधिकांश कम्पनीले आफूले हस्तान्तरण गर्ने कोही नभएर दामाशाही प्रक्रियाका लागि आवेदन दिनु परेको बताएका छन् ।
कच्चा पदार्थको मूल्यमा भएको वृद्धि तथा विद्युतको बढ्दो लागतका कारण पनि व्यवसाय चलाउन समस्या भएको छ । महँगी बढ्दै गएमा टाट पल्टिने कम्पनीको संख्या बढ्ने तेइकोकुको अनुमान छ ।
