जापान प्राविधिक प्रशिक्षार्थी कार्यक्रमको ठाउँमा नयाँ व्यवस्था गर्ने तयारीमा

जापान सरकारको एक समितिले देशमा रहेका विदेशी प्रशिक्षार्थी कार्यक्रम रद्द गर्दै नयाँ व्यवस्था ल्याउने प्रस्ताव अघि बढाएको छ ।

समितिले सोमबार प्रस्तावको अन्तरिम रिपोर्ट जारी गरेको हो । मस्यौदा अनुसार नयाँ व्यवस्थामा विदेशी नागरिकले जापानमा मध्यदेखि दीर्घकालसम्म काम गर्न सक्ने योजना बनाउन कोशिस गरिएको छ ।

वर्तमान प्राविधिक प्रशिक्षार्थी कार्यक्रमअनुसार विशेष रुपमा विकासशील देशका नागरिकले जापानमा कामका क्रममा प्राविधिक क्षमता हासिल गर्न सक्छन् । अन्तर्राष्ट्रिय विकासमा योगदान गर्ने मनसायले जापानले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यद्यपि आलोचकका अनुसार यो कार्यक्रमको प्रयोग जापानी नागरिकले गर्न नसकेका कठिन कामका लागि मात्रै गरिन्छ ।
तलब र कामकाजी माहौललाई लिएर अक्सर समस्या हुने गरेको पाइन्छ ।

मस्यौदामा नयाँ व्यवस्थामा केबल प्रशिक्षणमात्रै नभएर देशमा श्रमिकको कमीलाई समेत मध्यनजर गर्दै श्रमशक्ति सुनिश्चित गर्न ध्यान दिइनुपर्ने उल्लेख छ ।

यस्तै प्रशिक्षार्थीलाई काम बदल्ने अनुमति दिने नियम पनि खुकुलो पार्नुपर्ने उल्लेख छ । यस समयमा यो सुविधा सैद्धान्तिक रुपमा सम्भव छैन ।

वर्तमान व्यवस्था अनुसार ३ वर्षको प्रशिक्षण लिएका प्रशिक्षार्थीले केही निश्चित शर्त पूरा गरेपछि परीक्षा बिनै निर्दिष्ट क्षेत्रको व्यावसायिक भिसा प्राप्त गर्न सक्छन् । यो भिसाले जापानमा अधिकतम ५ वर्ष बस्न पाइन्छ ।

मस्यौदामा विदेशी नागरिकलाई मध्यदेखि दीर्घकालसम्म काम गर्न सहज हुने गरी भिसा प्राप्त गर्ने प्रक्रियालाई सरल बनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?