
निरन्तरको महंगी बढेसँगै जापानमा घरपरिवारको मासिक औसत खर्च पनि बढेको छ ।
सन् २०२३ को फेब्रुअरीमा जापानमा एक परिवारको औसत खर्च पौने ३ लाख पुगेको छ । दुई वा सो भन्दा धेरै सदस्य भएका घरपरिवारले करिब २ लाख ७२ हजार २१४ येन खर्च गरेको पाइएको छ ।
खर्चको यो आकार सन् २०२२ को फेब्रुअरीको भन्दा १.६ प्रतिशत बढी भएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
फेब्रुअरीमा हिमपातका कारण चिसो बढ्दा विद्युत खपत बढेपछि समग्रमा खर्च बढेको हो । चिसो लहरका कारण युटिलिटी महसुल १३.२ प्रतिशतले बढेको थियो ।
बिजुली र ग्यासको बिल क्रमशः २९.४ प्रतिशत र २.९ प्रतिशतले बढेको छ । होटल र रेष्टुराँमा खानपिन गर्ने प्रवृत्ति बढ्दा पनि खर्च बढेको हो ।
सो अवधिमा घरबाहिर खानमा खर्च ३८ प्रतिशत र पेयमा खर्च पनि ६ गुणाले बढेको तथ्यांकमा उल्लेख छ ।
