
जापानमा एक नेपालीको मृत्यु भएको छ । जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजी आरोहणका क्रममा लडेर एक नेपाली युवाको मृत्यु भएको हो ।
करिब ४० वर्षीय नेपाली युवकको मृत्यु भएको याहु जापानमा छापिएको समाचारमा उल्लेख छ ।
उनको नाम भने खुलेको छैन । जापानमा उनी खानागावा प्रिफेक्चरको फुजिशावामा बस्दै आएका थिए ।
फुजी हिमालको आठौं बेसक्याम्पबाट आरोहणका क्रममा लडेर उनको मृत्यु भएको बताइएको छ । उनीहरु चार जनाको समूहमा हिमाल चढ्न गएका थिए ।
उनीसँगै हिमाल आरोहण गर्न गएकी ३३ वर्षीय युवती पनि लडेकी थिइन् । प्रहरीले ती महिलाको उद्धार गरेको छ । ती महिलाको छातीमा गम्भीर चोट लागेको बताइएको छ ।
मृतक नेपाली उद्धारका क्रममा कार्डियोपल्मनरी अरेष्टको अवस्थामा भेटिएका थिए । पछि उनको मृत्यु भइसकेको पुष्टि भयो ।
सो टोली मार्च ३१ मा हिमाल आरोहणका लागि गएको थियो । टोलीमा रहेका अन्य तीन जना कुन देशका थिए भन्ने खुलाइएको छैन ।
उनीहरुले शिजुओका प्रिफेक्चरको गोतेम्बागुचीबाट हिमाल आरोहण सुरु गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
