उब्रिएको खाना पकाउने तेलबाट जेट इन्धन बनाउँदै जापान

जापानमा खाना पकाएर उब्रिएको तेलबाट जेट इन्धन बनाइने भएको छ ।

सुशी चेन आकिन्दो सुशिरोले खाना पकाउन प्रयोग गरेर काम नलाग्ने भएको तेलको प्रयोगबाट जेट इन्धन बनाउने भएको हो ।

ओसाकाको सुइतास्थित फुड एन्ड लाइफ कम्पनिज लिमिटेडले देशभर रहेका सुशी चेनका ६८० सुशिरो र अन्य रेष्टुराँहरुबाट निस्कने तेलको प्रयोग गरेर सन् २०२५ देखि दिगो हवाई इन्धनको उत्पादन गर्ने बताइएको छ ।

इन्धन उत्पादनका लागि कम्पनीले योकोहामास्थित जेजीसी होल्डिङ्स कर्पोरेशनसहित अन्य पक्षसँग सम्झौता गरेको छ ।

कम्पनीले सुशी रेष्टुराँमा तेम्पुरा र अन्य परिकार तार्नका लागि प्रयोग गरेर चलाउन नमिल्ने भएर खेर जाने वार्षिक ९ लाख लिटर तेल उपलब्ध गराउनेछ ।

प्रयोगमा आइसकेको तेल प्रयोग गरेर जेजीसी होल्डिङ्स र अन्यले ओसाकाको साकाईमा हाल निर्माणधीन केन्द्रबाट वार्षिक ७ लाख ५० हजार लिटर हवाई इन्धन उत्पादन गर्नेछन् ।

परम्परागत इन्धनको तुलनमा यसरी खाने तेल वा बोटबिरुवाबाट उत्पादन गरिएको जेट इन्धनले निकै न्यून मात्रामा कार्बनडाईअक्साइड उत्सर्जन गर्छ ।

जापान सरकारले सन् २०३० सम्ममा घरेलु विमान सेवा प्रदायक कम्पनीहरुले प्रयोग गर्ने १० प्रतिशत इन्धनलाई दिगो हवाई इन्धन बनाउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न उसलाई घरेलु आपूर्ति शृङ्खलाको खाँचो छ ।

विश्व बजारमा खाना पकाएर उब्रिने तेलको उच्च माग छ । जापानले उब्रिएको २० प्रतिशत तेल अहिले निर्यात गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?