जापानमा विद्यार्थी नहुँदा धमाधम बन्द हुने अवस्थामा विद्यालय

जापानको कागावा प्रिफेक्चरमा एक छात्राका लागि दीक्षान्त समारोहको आयोजना गरियो । उता फुकुशिमामा पनि दुई विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भए ।

उनीहरु सो विद्यालयका अन्तिम विद्यार्थीहरु थिए । यी दुवै घटनाले जापानमाथि भने खतराको घन्टी बजिरहेको छ ।

जापानमा जन्मदरमा आएको ऐतिहासिक गिरावटसँगै नयाँ विद्यार्थी नहुँदा धेरै विद्यालयहरु बन्द हुन थालेका छन् ।

दशकौं पुराना र राम्रो अध्ययन अध्यापन हुने विद्यालय पनि विद्यार्थी अभावको मारमा परेका छन् । विशेषगरी ग्रामीण भेगमा विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।

जनसंख्या घट्दै गइरहेको तथा जन्मदर उकास्न भइरहेको निरन्तरको संघर्षबाट अपेक्षित परिणाम नआइरहेका बेला विद्यालयहरु नै बन्द हुने अवस्था सिर्जना भएको हो ।

जन्मदर बढाउन जापानी प्रधानमन्त्री फुमिओ किशिदाले शिशु स्याहारको बजेट दोब्बर बनाउने सहितका सुविधा घोषणा गरेका छन् ।

सन् २०२२ मा जापानमा कुल ८ लाख भन्दा कम शिशु जन्मिए । यो संख्या अहिलेसम्मकै कीर्तिमानी न्यून थियो ।

जापानमा वर्सेनि करिब ४५० विद्यालयहरु विद्यार्थीको अभावमा बन्द भइरहेको सरकारी तथ्यांकले देखाएको छ ।

सन् २००२ देखि सन् २०२० को बीचमा करिब ९ हजार विद्यालयहरु बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?