जापानमा मे ८ देखि सीमा नियन्त्रण पूर्ण रुपमा हट्ने

जापानले कोभिड नियन्त्रण गर्न सीमामा यात्रुहरुमाथि लगाएको सम्पूर्ण सीमा नियन्त्रणका उपायहरु समाप्त गर्ने भएको छ ।

मे ८ देखि जापानले कोभिडलाई मौसमी रुघाखोकीको श्रेणीमा राख्दैछ । योसँगै सीमा नियन्त्रणका उपायहरु पनि खारेज गरिने जापान सरकारले घोषणा गरेको हो ।

कोभिडका कारण सामाजिक र आर्थिक गतिविधिहरुमा प्रभाव परिरहेका बेला जापान विस्तारै यसलाई सामान्य बनाउनेतर्फ अघि बढेको हो ।

सरकारले नयाँ जेनोमिक सर्भिलियन्स कार्यक्रम पनि सुरु गर्नेछ । जसमा ज्वरोलगायत लक्षणहरु देखिएका यात्रुहरुले स्वेच्छिक रुपमा परीक्षण गराउन सक्नेछन् ।

नयाँ नियमले नारिता, हानेदा, चुबु, कान्साई र फुकुओका विमानस्थलमा आइपुग्ने यात्रीहरुलाई समेट्नेछ ।

सीमामा नियन्त्रण खुकुलो पारिरहँदा जापानले बुधबारदेखि मुख्यभूमि चीनबाट आउने यात्रीहरुमाथिको सीमा नियन्त्रणका उपायहरु पनि खुकुलो पारेको छ । अब चीनबाट आउने यात्रुले कोभिडविरुद्धका तीन वटा खोप लगाएको प्रमाण पेश गरे पुग्नेछ ।
अहिले चीनबाट आउने यात्रीहरुले प्रस्थान गर्नु भन्दा ७२ घन्टा वा सो भन्दा कम अवधिभित्रको कोभिड परीक्षणको नकारात्मक प्रमाण पेस गर्नुपर्छ ।

डिसेम्बरको अन्त्यतिर चीनले कोभिडसम्बन्धी कठोर नीति अन्त्य गरेसँगै कोभिड बिरामीको मात्रा बढेको थियो । जसका कारण जापानले चीनबाट आउने यात्रुहरुलाई सीमामा कडाई सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?