परमाणु विपद्ले प्रभावित फुकुशिमाका थप २ जिल्लामा बस्न अनुमति

जापान सरकारले फुकिशिमा दाइची ऊर्जा केन्द्र विपद्का कारण खाली गराएका ऊर्जा केन्द्र आसपासका थप २ जिल्लामा स्थानीयबासीलाई बस्न अनुमति दिएको छ ।

तोमिओका सहरका दुई जिल्लामा बस्नका लागि रहेको निषेधको आदेश हटाइएको हो ।

सन् २०११ को परमाणु दुघर्टनालगत्तै सो शहरको १० प्रतिशतभन्दा धेरै क्षेत्रफल अर्थात् साढे ८ वर्ग किमि क्षेत्रलाई बस्न नमिल्ने क्षेत्र घोषित गरिएको थियो ।

यी दुई जिल्ला सो क्षेत्रको करिब आधा भाग हो । ठाउँ खाली गराइएका जिल्लाका बासिन्दाहरु अब भने बस्नका लागि फर्किन पाउने भएका छन् ।

पाँच वर्षमा शहरको जनसंख्या बढेर १ हजार ६०० पुग्ने आशा गरिएको छ । मार्च १ सम्ममा तोमिओकाको १ हजार १ सय भन्दा धेरै घरपरिवारमा २ हजार ६०० जना बासिन्दाका रुपमा दर्ता थिए ।

सन् २०११ को मार्चमा शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण फुकुशिमा परामाणु केन्द्रको आकस्मिक डिजेल जेनरेटरलाई ठूलो क्षति पुगेको थियो ।

ऊर्जा केन्द्रको जेनरेटर बिग्रिदा कुलिङ सिष्टम चल्न नसक्दा रियाक्टरहरुरु चुहिएर र्‍याडिएशन एक्सपोजरको खतरा बढेको थियो । यसलाई परमाणु ऊर्जा उत्पादनको इतिहासको सबैभन्दा ठूलो विपद्का रुपमा लिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?