
जापानका विदेशमन्त्री हायाशी योशिमासाले अप्रिल पहिलो साता चीनको भ्रमण गर्ने तयारी गरेका छन् ।
चीन भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री चिन कांगसँग भेटवार्ता गर्नेछन् ।
हायाशीको आगामी शनिबारदेखि दुई दिनको चीन भ्रमणको तयारी भइरहेको छ । उनी डिसेम्बर, २०१९ पछि चीन भ्रमणमा जाने पहिलो विदेशमन्त्री हुनेछन् ।
चीन भ्रमणका क्रममा हायाशीले ओकिनावा प्रिफेक्चरमा सेन्काकु द्विपसमूह सहित पूर्वी चीन सागरमा जापानी चासो तथा रुसको बढ्दौ सैन्य गतिविधिबारे समेत कुराकानी गर्ने सम्भावना छ ।
सेन्काकु द्विप समूहमा जापानको नियन्त्रण रहेको छ । यो समूहमाथि चीनले दाबी गर्दै आएको छ ।
जापान सरकारले इतिहास र अन्तर्राष्ट्रिय कानुनअनुसार पनि यो द्विप समूह जापानको अभिन्न हिस्सा भएको बताउँदै आएको छ । जापानले यो द्विप समूहलाई लिएर सम्प्रभुताको कुनै मुद्दा नभएको पनि बताएको छ ।
हायाशीले यो क्षेत्रको स्थिरता, समृद्धि र बलियो सम्बन्धका लागि चीनसँग निरन्तर वार्ता र संवादमा जोड दिने बताइएको छ ।