
उत्तर कोरियाले जापान सागरतिर मिसाइल प्रहार गरिरहेका बेला रुसले पनि मिसाइल प्रहार गरेको खबर बाहिर आएको छ ।
रुसको प्रशान्त जलसेनाको युद्धपोतले भ्लादिभोस्तोकबाट जापान सागरतिर एन्टिशिप क्रुज मिसाइल प्रहार गरेको बताइएको छ ।
मंगलबारको अभ्यासमा सोभियत युगमा विकास गरिएको दुई ओटा ‘लामखुट्टे’ क्रुज मिसाइल हानिएको रक्षा मन्त्रालयले बताएको छ ।
पिटर द ग्रेट गल्फमा करिब सय किलोमिटर पर रहेको शत्रुको युद्धपोत आक्रमण अभ्यास गर्दै ती मिसाइल प्रहार गरिएको छ । उक्त प्रहारको रुसले भिडियो नै सार्वजनिक गरेको छ ।
समुद्र आसपास कसैलाई क्षति हुन्न भन्ने निर्धारण गरेर मात्रै सो अभ्यास गरिएको रुसको सरकारी समाचार संस्थाको दाबी छ ।
रुसले पछिल्लो समय सुदूरपूर्वमा आफ्नो गतिविधि तीव्र पारेको छ । आत्मरक्षा बलको सैनिकीकरण गर्न अमेरिकाले जापानलाई दबाब दिएकोमा रुसले हालै मात्रै विरोध गरेको थियो ।
उत्तर कोरियाले जापान सागरमा मिसाइल प्रक्षेपण आक्रामक बनाएको समयमा रुसले मिसाइल प्रहार गरेपछि रुस–जापान सम्बन्धमा थप तित्तता आउने अनुमान गरिएको छ ।
