एसईईको तयारी पूरा, जापानबाट १४ परीक्षार्थी सहभागी हुँदै

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षणा बोर्डले यस वर्षको परीक्षामा ५ लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुन लागेको जानकारी दिएको छ ।

परीक्षामा २ लाख ६० हजार ६७४ छात्र र २ लाख ५५ हजार ९१७ छात्राले सहभागिता जनाउँदैछन् । परीक्षाका लागि आवश्यक उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पठाइसकिएको बोर्डले जनाएको छ ।

यसवर्षको परीक्षामा जापानबाट समेत १४ जना परीक्षार्थीहरु सहभागी हुनेछन् । रोजगारीका लागि जापानमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षामा सहभागिता जनाउन लागेका हुन् ।

जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी हुन लागेका हुन् ।

एसईई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ४३४ परीक्षा केन्द्र तोकिएको छ ।

सबैभन्दा कम परीक्षार्थी र परीक्षा केन्द्र कर्णाली प्रदेशमा छन् । कर्णालीमा १७९ परीक्षा केन्द्रबाट ४१ हजार ३२९ परीक्षार्थी सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?