उत्तर कोरियामाथिको प्रतिबन्ध २ वर्ष बढाउने तयारीमा जापान

उत्तर कोरियाले परमाणु हतियार निर्माण र मिसाइल कार्यक्रम जारी राखेको भन्दै जापान सरकारले प्रतिबन्ध दुई वर्ष बढाउने तयारी गरेको छ ।

जापानले सन् २००६ देखि उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको हो । यसमध्ये दुई प्रतिबन्ध आगामी १३ अप्रिलमा समाप्त हुँदैछ ।

उत्तर कोरियाले तीवै रुपमा ब्यालिस्टिक मिसाइल परीक्षणको दिशामा गएको भन्दै प्रतिबन्ध बढाउने तयारी गरेको हो ।

सन् १९७०–८० को दशकमा उत्तर कोरियाली जासुसद्वारा अपहृत जापानी नागरिकको मुद्दामा पनि कुनै प्रगति नभएकाले प्रतिबन्ध खुला गर्न नसकिने एक अधिकारीले बताएका छन् ।

मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुले अपहरण विवाद र प्योङयाङको परमाणु र मिसाइल कार्यक्रमसहित विभिन्न मुद्दाको व्यापक समाधानका लागि जापान र अन्य देश मिलेर काम गर्ने जनाएका छन् ।

जापान सरकारले उत्तर कोरियाली जासुसले १७ जापानी नागरिकको अपहरण गरेको बताउँदै आएको छ । जसमध्ये १२ जना अझैसम्म जापान फर्किएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?