जापानमा ड्युटी समयमा चुरोट खाने कर्मचारीको तलब कटौती

जापानको ओसाका प्रिफेक्चर सरकारले ड्युटी समयमा चुरोट सेवन गरेको भन्दै तीन कर्मचारीको तलब कटौती गरेको छ ।

पटक पटक चेतावनी पाएर पनि चुरोट खान नछोडेको तथा कामका बेलामा चुरोट खाएर स्थानीय निजामति सेवा ऐनको उल्लंघन गरेको आरोपमा उनीहरुमाथि कारबाही गरिएको हो ।

उनीहरु तीनै जनाको ६ महिनाको तलबमा १० प्रतिशत कटौती गरिएको छ ।

कामकै समयमा ४ हजार ५१२ पटक चुरोट खाएको भन्दै तीन मध्ये एक कर्मचारीलाई भने चुरोटमा खर्चिएको समय बराबरको १४ लाख ४० हजार येन (११ हजार डलर) पैसा फिर्ता गर्न पनि आदेश दिइएको छ ।

कार्य समयमा बारम्बार चुरोट खाएको भन्दै वित्त विभागका तीन पुरुष कर्मचारीको १० प्रतिशत तलब कटौती गरिएको छ ।

तीन जनामध्ये ६१ वर्षका कामदारले ड्युटीमै भएको समयमा साढे १४ वर्षको अवधिसम्म कुल ३५५ घन्टा १९ मिनेट चुरोट सेवन गरेको पुष्टि भएको छ ।

प्रिफेक्चरल सरकारको मानव संसाधन विभागका अनुसार सन् २०२२ को सेप्टेम्बरमा एक व्यक्तिले नाम गोप्य राख्ने शर्तमा यसबारे जानकारी दिएका थिए ।

सरकारी आदेशअनुसार ६१ वर्षका कर्मचारीले १४ लाख ४० हजार येन तलब फिर्ता गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?