जापानी प्रधानमन्त्रीद्वारा युक्रेनलाई करोडौ डलर सहयोग घोषणा

जापानी प्रधानमन्त्री फुमियो किशिदाले युक्रेन भ्रमणका क्रममा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन् ।

यसक्रममा उनले रुस–युक्रेन युद्धमा मारिएका सैनिकहरुप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । यसलगत्तै उनी किभ नजिकैको शहर बुचा पुगे । जहाँ रुसी हमलाका क्रममा ४१० जना आम मानिस मारिएको बताइन्छ ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै किशिदाले युक्रेनलाई ४७० मिलियन डलर सहयोग दिने घोषणा गरे ।威而鋼 यो पैसाको प्रयोग युक्रेनको ऊर्जा क्षेत्र र बाँकी उद्योगको विकासका लागि गरिनेछ ।

यसका साथै उनले नाटो ट्रस्ट फन्डबाट युक्रेनलाई गैरघातक हतियार किन्नका लागि ३० मिलियन डलर दिने घोषणा पनि गरेका छन् ।

किशिदाले जापान युक्रेनको साथमा रहेको भन्दै आफूलाई बुचा पुग्दा एक वर्षअघिको आम हत्यालाई लिएर आक्रोश पैदा भएको बताए ।

जेलेन्स्कीले किशिदा अन्तर्राष्ट्रिय स्तरमा शान्ति कायम राख्नका लागि शक्तिशाली डिफेन्डर भएको भन्दै यो भ्रमण युक्रेनसँगको दोस्तीको प्रतीक भएको बताए ।

हालसम्म जापानले ७ अर्ब डलरको सहयोग दिइसकेको छ । यसका साथै जापानले युक्रेनलाई युद्धका लागि गैर लडाकु मिलिट्री सामग्री जस्तै हेलमेट, बुलेट प्रुफ ज्याकेट, ड्रोनजस्ता सामग्री दिएको थियो । जापानले युक्रेनबाट आएका करिब २ हजार मानिसलाई शरण समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?