जापानी प्रधानमन्त्री किशिदा भारतबाट गए युक्रेन

भारत भ्रमणका रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदा युक्रेन भ्रमणमा गएका छन् ।

आइतबार चार दिने भारत भ्रमणमा निस्किएका किशिदा भारत छाडेर युक्रेन गएको जापानी समाचार संस्थाहरुले जनाएका छन् ।

उनी भारतबाट पोल्याण्डको राजधानी वार्सा पुगेको र त्यहाँबाट रेलमार्फत किभतर्फ लागेको बताइएको छ ।

किशिदाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्नेछन् । उनले जापानका तर्फबाट युक्रेनलाई गर्ने सहयोगका बारेमा समेत घोषणा गर्ने अनुमान गरिएको छ ।

दुई साताअघि नै जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीले किशिदाले छिट्टै युक्रेन भ्रमण गर्ने जनाएको थियो ।
जापानले ईयू र अमेरिकासँग मिलेर युक्रेनलाई सहयोग गर्दै आएको छ ।

जापानले युक्रेनमाथि हमलाको विरोध गर्दै रुसमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणका रहेका बेला जापानी प्रधानमन्त्री युक्रेन भ्रमणमा गएका हुन् ।

जापानले चीनको बढ्दो प्रभावविरुद्ध समेत कदम चाल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?