
जापानका प्रधानमन्त्री फुमिओ किशिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच खाद्य सुरक्षा र विकासमा दुई देशबीच सहकार्य गर्ने सहमति भएको छ ।
जापानी प्रधानमन्त्री किशिदाको चार दिने भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता भएको हो ।
नयाँ दिल्लीमा आपसी भेटघाटका क्रममा किशिदाले पश्चिम जापानको शहर हिरोशिमामा आगामी मेमा हुन लागेको सात औद्योगिक देशहरुको समूह जी–७ को सम्मेलनमा सहभागी हुने निम्तो पनि दिएका छन् ।
सो निम्तोलाई मोदीले स्वीकार गरेका छन् । जी–७ मा जापानबाहेक बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली, अमेरिका छन् ।
भेटका क्रममा किशिदाले उदीयमान र विकासशील अर्थतन्त्रलाई जापानको सहयोग बढाउने योजना पनि घोषणा गरे । गत वर्ष मार्चयता यो किशिदाको दोस्रो भारत भ्रमण हो ।
अघिल्लो पटक दुई नेताबीच सन् २०२२ को सेप्टेम्बरमा पूर्वजापानी प्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिका समयमा मोदी जापान गएको बेलामा भेट भएको थियो ।
अहिले जापानले जी–७ को र भारत जी–२० को अध्यक्ष छ । सोही कारण पनि विश्वको हितमा मिलेर काम गर्ने अवसर जुटेको मोदीले उल्लेख गरेका छन् ।
विश्वको भूराजनीतिक उथलपुथल अनि चीनले हिन्द–प्रशान्त सागरमा आफ्नो आक्रामक गतिविधि बढाइरहेकै समयमा किशिदा भारत आएका हुन् ।