जापान र जर्मनी युक्रेनलाई अतिरिक्त सहायता दिन सहमत

जापानका प्रधानमन्त्री फुमियो किशिदा र जर्मन चान्सलर ओलाफ शोल्ज रुसमाथि कडा प्रतिबन्ध जारी राख्न र युक्रेनलाई अतिरिक्त सहायता दिन सहयोगी राष्ट्रसँग मिलेर काम गर्न सहमत भएका छन् ।

दुई देशका नेताहरुबीच शनिबार टोकियोमा वार्ता भएको थियो । सबैभन्दा पहिले अनुवादकका माध्यमबाट दुई नेताहरुबीच वार्ता भएपछि बैठकमा अन्य नेताहरु सामेल भएका थिए ।

दुवै नेताहरुले युक्रेनमाथि रुसी हमला तत्काल रोक्न आवश्यक रहेको भन्दै परमाणु हतियार प्रयोग गर्ने धम्की सहन नसक्ने बताएका छन् ।

किशिदा र शोल्ज सुरक्षासहित विभिन्न क्षेत्रमा सहयोग बढाउन समेत सहमत भएका छन् ।

उनीहरु चीनको बढ्दो आक्रामकतालाई ध्यानमा राख्दै खुला हिन्द–प्रशान्त क्षेत्रका लागि अघि बढ्न समेत एक ठाउँमा उभिने भएका छन् । उनीहरुले हिरोशिमामा हुने जी–७ शिखर सम्मेलनको दिशामा मिलेर काम गर्ने भएका छन् ।

यो सम्मेलनमा वैश्विक मुद्दासहित सुरक्षा परिषदको सुधारसहित संयुक्त राष्ट्र संघको सशक्तीकरणको मुद्दा तथा परमाणु निरस्त्रीकरण र अप्रसारका मुद्दा पनि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?