फुकुशिमाको पानी समुद्रमा मिसाउने योजनाको चीनद्वारा विरोध

जापानको फुकुशिमा परमाणु ऊर्जा केन्द्रको विषाक्त पानी प्रशोधन गरेर समुद्रमा मिसाउने जापानको तयारीको चीनले विरोध गरेको छ ।

चीनको विदेश मन्त्रालको हतियार नियन्त्रण विभागका महासचिव सन सियाओपोले जापानको योजनाको विरोध गरेका हुन् ।

दक्षिण कोरिया, उत्तर कोरिया, रुस र प्रशान्त क्षेत्रका अन्य टापु देशहरु समेत जापानको योजना सुरक्षित रहेकोमा पूर्ण विश्वस्त नभएको उनले बताएका छन् ।

फुकुशिमाको परमाणु ऊर्जा केन्द्रको विषाक्त पानीलाई प्रशोधन गरेर जापानले समुद्रमा मिसाउने तयारी गरिरहेको छ ।

सन् २०११ को शक्तिशाली भूकम्पपछि आएको सुनामीका कारण क्षतिग्रस्त बनेको ऊर्जा केन्द्रका रियाक्टर र चुहिएका इन्धनहरुलाई चिसो राख्न ठूलो मात्रामा पानीको प्रयोग गरिएको थियो ।

यी पानीलाई ऊर्जा केन्द्र आसपास ठूला ट्यांकीहरुमा जम्मा गरेर राखेर जापानले बारम्बार प्रशोधन गरेर राखेको थियो ।

भूकम्प गएको १२ वर्ष बितिसक्दा जापान सरकार र ऊर्जा केन्द्र सञ्चालक कम्पनी टेप्को त्यो पानी समुद्रमा पठाउने सबै तयारी पूरा गरेर बसेको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा केन्द्रले पनि पानी समुद्रमा मिसाउन लायक भइसकेको छ कि छैन भनेर पटक पटक निरीक्षण र समीक्षा गरेको छ । उन्नत प्रशोधन प्रक्रियामार्फत पानीमा भएका रेडियोएक्टिभ तत्वहरु लगभग हटाइएको छ ।

फुकुशिमा आसपासका माछा मार्ने समुदाय र जापानको छिमेकी देशहरुबाट विरोध भइरहँदा जापानले यसैवर्षदेखि समुद्रमा पठाउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?