जापानमा आत्महत्याका घटनामा रेकर्ड वृद्धि

जापानको स्वास्थ्य तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२२ मा आत्महत्याका २१ हजार ८८१ घटना दर्ता भएका छन् ।

जसमा बालबालिकाको आत्महत्या दरमा रेकर्ड वृद्धि भएको छ । सन् २०२१ को तुलनामा आत्महत्याका घटना ४.२ प्रतिशतले वृद्धि भएको हो । गत वर्ष पुरुषका आत्महत्याका घटना १४ हजार ७४६ रहेका छन् ।

यो सन् २००९ पछि पहिलो पटक वृद्धि भएको हो । आत्महत्या गर्ने महिलाको संख्यामा लगातार तेस्रो वर्ष वृद्धि भएको छ ।

गत वर्ष ७ हजार १३५ महिलाका आत्महत्याका घटना दर्ज भएका छन् । आत्महत्या गर्नेमध्ये ६७.४ प्रतिशत पुरुष छन् । आत्महत्या गर्नेमा सबैभन्दा बढी ६०–७० वर्ष, त्यसपछि ५०–६० वर्ष र तेस्रो नम्बरमा ८० वर्षमाथिका छन् ।

गत वर्ष ५१४ जना बालबालिकाले आत्महत्या गरेका छन् । जसमा ३५४ जना हाईस्कुलमा पढ्ने विद्यार्थीहरु, १४३ जना जुनियर हाईस्कुलका र १७ जना प्राथमिक विद्यालयमा अध्ययन गर्ने उमेरका छन् ।

सन् १९८० मा तथ्यांक उललब्ध हुन थालेपछि पहिलो पटक ५ सय बढी बालबालिकाले एक वर्षभित्र आत्महत्या गरेका हुन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार आत्महत्या गर्ने बालबालिका र अधबैंशे पुरुषको संख्या बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?