नेपाल विश्वकप क्वालिफायरमा पुग्न एक जित टाढा

नेपाल विश्वकप क्लालिफायरमा पुग्नबाट एक खेल टाढा छ । सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि ९ विकेटको फराकिलो जित हात पारेसँगै विश्वकप छनोट नजिक पुगेको हो ।

आसिफ शेखको विस्फोटक ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिनको मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हात पारेको हो ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै हुने यूएईसँगको खेलमा जित हात पारे नेपालले आगामी जुन–जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्रिकेट छनोट खेल्न पाउने छ ।

नेपाली बलरको घातक बलिङ सामू पपुवा न्युगिनीका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् र ३२ ओभरमा ९५ रनमा अल आउट भयो । पपुवा न्युगिनीले दिएको ९६ रनको लक्ष्य मात्रै ७.४ ओभरमा भेट्टायो ।

ओपनर आरिफ शेखले विस्फोटक ब्याटिङ गर्दै २१ बलमा नट आउट ५३ रन बनाए । त्यस क्रममा उनले ८ चौका र ३ छक्का हाने ।

अर्का ओपनर कुशल भुर्तेलले १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रन बनाए । कुशल भुर्तेल आउट भएपछि ब्याटिङमा आएका कुशल मल्ल १२ रनमा नट आउट रहे ।

यसअघि सोमबार कीर्तिपुरमा टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुदेखि नै पपुवा न्युगिनीका खेलाडीलाई दबाबमा राखेका थिए ।

नेपालका सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै २५ रन दिएर ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट हात पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?