नियम खुकुलो बनाएपछि जापानी प्रधानमन्त्री मास्क नलगाइ देखिए

जापानमा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि लगाइएको अनिवार्य मास्कको नियम हटाइएको छ ।

सोमबारदेखि अनिवार्य मास्कको नियम हटाइएको हो । कोभिड सुरु भएर मास्क सम्बन्धी प्रावधाहरु कसिलो पारिएको तीन वर्षपछि जापान मास्क फ्री भएको हो । आफ्नो इच्छाले लगाउनेबाहेक अरुलाई मास्क लगाउन अनिवार्य गरिनेछैन ।

यो नियम सुरु भएको पहिलो दिन प्रधानमन्त्री फुमिओ किशिदा आफैं पनि मास्क नै नलगाइ बाहिर निस्किएका छन् । सोमबार बिहान प्रधानमन्त्री कार्यालय आइपुग्दा किशिदा मास्कबिनै आएका थिए ।

किशिदाले मास्क नलगाइकन प्रधानमन्त्री कार्यालय आएको उनले प्रधानमन्त्री पद सम्हालेयता यो पहिलो पटक भएको प्रधानमन्त्री कार्यालयले बताएको छ ।

‘आजदेखि मास्क लगाउने कि नलगाउने भन्ने निर्णय हरेक व्यक्ति आफैंको हुनेछ’, पत्रकारसँग किशिदाले भने ।

अब आफूले पनि मास्क खोल्ने थप अवसरहरु पाएको उनको भनाइ छ । वृद्ध हेरचाह केन्द्र, स्वास्थ्य संस्था र भिडभाड धेरै नै भएको स्थानमा भने कोभिडको गम्भीर लक्षणहरु देखिन सक्ने उच्च जोखिम कम गर्न भने मास्क लगाउन किशिदाले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?