नेपाल पत्रकार महासंघ जापानले मनायो १२ औँ स्थापना दिवस

टोकियो । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले जापानको नेपाली समाज संगठित, समृद्ध र अनुकरणीय रहेको बताउनु भएको छ ।

टोकियोमा आइतबार नेपाल पत्रकार महासंघ जापान शाखा स्थापनाको १२औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका डा. सुवेदीले दूतावासमा हाल देखिएको टेलीकमको समस्या छिटै समाधान बताउनु भयो ।

राजदूत सुवेदीले जापानको नेपाली समाज विश्वका नेपाली समुदाय भन्दा संगठित र अनुकरणीय रहेको समेत उल्लेख गर्नु भयो । उहाँले आफ्नो कार्यकालमा नेपाली दूतावासमा भ्रष्टाचार हुनै नदिने प्रतिवद्धता जनाउनुभयो । जापानको संचारकर्मले जापानी र नेपाली समाजको पुलको रूपमा काम गरिरहेको भन्दै उहाँले पत्रकार महासंघ र यहाँको नेपाली संचारकर्मले नेपाली कला, संस्कार र संस्कृतिलाई जोगाउन टेवा पुर्याएको बताउनु भयो । जापानको नेपाली पत्रकारिताले दूतावासको कामलाई नेपाली समुदायमा पुर्याउन उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गर्नु भयो ।

कार्यक्रममा पत्रकार महासंघ जापानले १२ वर्ष पुरा गरि १३ वर्ष लागेको अवसरमा संस्थापकहरुलाई मायाको चिनो प्रदान गरि सम्मान गरेको थियो ।

सो अवसरमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिवप्रसाद पौडेल, एसिया प्याशिफिक उपसंयोजक ददिवल खड्का, पत्रकार महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल, एनआरएनए आइसीसी उपाध्यक्ष तथा महासंघका संस्थापक सल्लाहकार भूषण घिमिरे, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजीब राई, जन सम्पर्क समिति जापानका सभापति रोशन केसी, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, अन्तर्राष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष प्रकाश केसी लगायत व्यक्ति हरुले शुभकामना व्यक्त गर्नु भयो ।

कार्यक्रममा जापानमा रहेका सक्रिय नेपाली पत्रकार, नेपाली दूतावास, एनआरएनए र विभिन्न नेपाली संघ–संस्थाको नेतृत्वको उपस्थितिमा संस्थापकहरु लाई मायाँको चिनो प्रदान, शुभकामना आदान–प्रदान र चियापान गरिएको थियो ।

पत्रकार महासंघ जापान शाखा सन् २०११ मार्च १३ तारिख जापानको राजधानी टोकियोमा पत्रकार तिलक मल्लको सभापतित्वमा स्थापना भएको हो । संस्थापक अध्यक्ष मल्लले स्थापनाकालिन अवस्थाको बारेमा प्रष्ट पार्दै पत्रकारिता गर्ने युवाहरुलाई कडा मेहनत गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्द्रा खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव राजन गौतमले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?