नियम खुकुलो बनाएपनि एक चौथाई जापानीले मास्क लगाउने

कोरोना भाइरसको संक्रमण कम भएसँगै जापानले कोभिडसम्बन्धी कडा नीतिहरु पनि परिमार्जन गर्दैछ ।

सोही अनुसार जापानले सोमबार (१३ मार्च) बाट मास्कको अनिवार्यता हटाउँदैछ । तर नियम खुकुलो भए पनि एक चौथाई जापानी मास्क लगाउने पक्षमा देखिएका छन् ।

नियम खुकुलो भएपछि तपाईं के गर्नुहुन्छ ? भन्ने प्रश्नमा हरेक चारमध्ये एक जना जापानले मास्क निरन्तर लगाउने जवाफ दिएका छन् ।

संक्रमण रोकथाम गर्न र बानीका कारण मास्क लगाइरहने अधिकांशको भनाइ छ ।

जापान सरकारले मास्क लगाउने कि नलगाउने भन्ने निणर्य भने सर्वसाधारणमाथि छाडिदिएको छ । विगत तीन वर्षसम्म कोभिडका कारण लगाइएको प्रतिबन्धपछि सामाजिक तथा आर्थिक गतिविधिलाई सामान्य बनाउने सरकारी प्रयास जारी छ ।

तर सर्वेक्षणको नतिजाले भने नाक मुख मास्कले छोप्नै पर्ने अभ्यासमा व्यापक परिवर्तन भने नआउने देखाएको छ ।

सन् २०२० को सुरुमा संक्रमण बढ्न थालेदेखि मास्कको प्रयोग व्यापक रुपमा बढेको छ ।

सरकारले घरभित्र वा कोठामा मास्क लगाउन भनेपनि बाहिर भने लगाउन सुझाव दिएको छैन । लाइबो इंकले गरेको अनलाइन सर्वेक्षण अनुसार ५६१ कम्पनीका २० देखि ५० वर्षबीचका कर्मचारीहरुमध्ये २७.८ प्रतिशतले मास्कलाई बिनाशर्त लगाइरहने बताएका छन् ।

६६ प्रतिशतभन्दा धेरैले भने अवस्था हेरेर लगाउने नलगाउने निणर्य गर्ने प्रतिक्रिया दिएका छन् । साढे ५ प्रतिशत मात्रै अवस्था जस्तो सुकै भएपनि मास्क लाउँदिन भन्ने देखिएका छन् ।

बहुउत्तर माग्दै मास्क लगाउने कारण सोध्दा ५३.४ प्रतिशतले संक्रमण रोक्न मास्क लगाउने बताएका छन् भने अर्को ५०.२ प्रतिशतले बानी परेका कारण मास्क लगाउने बताएका छन् ।

३९.२ प्रतिशतले कोरोना बाहेक अन्य रोगबाट आफूलाई जोगाउन मास्क लगाउने उत्तर दिएका छन् । सरकारको नयाँ निर्देशिका अनुसार स्वास्थ्य संस्था, नर्सिङ होम, भिडभाड भएको रेल र बसमा मास्कको प्रयोग गर्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?