उपराष्ट्रपतिमा ४ जना उम्मेदवार, रामसहायविरुद्ध एमाले र जनमतको उजुरी

उपराष्ट्रपतिका लागि सत्तारुढ गठबन्धनबाट तीन जनासहित ४ जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो ।

जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गरेका छन् । प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहेका छन् ।

समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहेका छन् ।

त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी छन् ।

समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव रहेका छन् । समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहेका छन् ।

यता नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ छन् भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँनेछ ।

एमाले र जनमतको उजुरी
नेकपा एमाले र जनमत पार्टीले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएका छन् ।

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमाले जनमतले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो ।

एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतलाई उजुरी दिएका छन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा १६(५) ले उपराष्ट्रपतिका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सो भन्दा फरक लिंग वा समुदायको व्यक्ति मनोनयन गर्नुपर्ने व्यवस्था गरेको उजुरीमा उल्लेख छ ।

यस अनुसार उपराष्ट्रपतिमा पुरुषबाहेकका उम्मेदवार हुनुपर्ने भन्दै जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

‘नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णय विपरीत तथा विगतको दुबै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी रामसहाय प्रसाद यादवको उम्मेदवारी परेकाले पुरुषबाहेक महिलाहरु अयोग्य र असक्षम हुन्छन् भन्ने मान्यतालाई बलपूर्वक स्थापित गर्ने हुँदा उल्लिखित संवैधानिक र कानुनी व्यवस्था तथा निर्वाचन आयोगको मिति २०७९–११–२६ को निर्णय र सो आधारमा जारी निर्देशनसमेतको विरुद्धमा हुँदा वहाँको उम्मेदवारी खारेज गरिपाउँ’ उजुरीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?