
दक्षिण कोरियाका राष्ट्रपति युन सुक–इयोलले मध्य मार्चमा जापानको भ्रमण गर्ने भएका छन् ।
जापानी र दक्षिण कोरियाली अधिकारीहरुले राष्ट्रपति इयोलले १६ र १७ मार्चमा जापान भ्रमण गर्ने पुष्टि गरेका छन् ।
भ्रमणका क्रममा उनले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेट गर्ने कार्यक्रम छ । भ्रमण युद्धकालीन श्रम विवाद समाधान गरी दुई पक्षीय सम्बन्ध सुधार गर्न केन्द्रित हुनेछ ।
दक्षिण कोरियाले श्रम विवाद समाधानको योजना घोषणा गरेलगत्तै दक्षिण कोरियाली राष्ट्रपतिले जापानको भ्रमण गर्ने कार्यतालिका बाहिर आएको हो ।
जापानी प्रधानमन्त्री किशिदाले दक्षिण कोरियाको योजनाले दुई देशबीचको सम्बन्ध सुधारमा सहयोग गर्ने भन्दै उक्त घोषणाको स्वागत गरेका थिए ।
उनले उत्तर कोरियाबाट बढ्दो सैन्य खतरा तथा उत्तर कोरियाको आणविक र मिसाइल कार्यक्रमविरुद्ध अमेरिका, दक्षिण कोरिया र जापान एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै आएका छन् ।
दक्षिण कोरियाका विदेशमन्त्रीले दुई देशबीचको सम्बन्ध सुधारलाई ध्यानमा राखेर श्रम समस्या समाधानको योजना अघि सारिएको बताएका छन् ।